
काठमाडौं, २ कात्तिक । नेपाल र अमेरिकाबीचको टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ ।
टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।
नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । उसका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १/१ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । दीपेन्द्र आउट भएलगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए ।
नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए ।
अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २/२ विकेट लिए ।
श्रृंखलाअन्तर्गत दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।








प्रतिक्रिया