१ असार २०८३, सोमबार

अदालतको अवहेलना मुद्दामा बार अध्यक्ष घिमिरेलाई लिखित जवाफ बुझाउन आदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कार्तिक । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जवाफ दिन आदेश गरेको छ।

उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दशैंअघि दर्ता भएको थियो।

सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले उहाँलाई सात दिनभित्र आफै वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको सर्वोच्च अदालतले जनाएको छ।

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले उहाँलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गर्नु भएको थियो ।

बार अध्यक्षले गरेको टिप्पणीप्रति न्याय परिषदले समेत विज्ञप्ति जारी गरेर खेद प्रकट गरेको थियो। बार अध्यक्षले अदालत, न्याय परिषद र प्रधानन्यायाधीशविरुद्ध कुलषित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको परिषदको विज्ञप्तिमा उल्लेख थियो।

केहिदिनमै उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित परिषदले सर्वोच्चमा २ न्यायाधीशमात्र सिफारिस गरेकोमा विरोध गर्दै बार अध्यक्षले एक कार्यक्रममा भाषण गर्नु भएको थियो ।

नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरियतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ।