
काठमाडौं, २२ असोज । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताउनु भएको छ ।
आज बाढीपहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अति भारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ । यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।’
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
‘यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? यो नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो,’ उहाँले भन्नुभयो । विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उहाँको थियो ।
उहाँले भन्नुभयो, ‘यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन । तीनवटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नुछ ।’ मन्त्री लेखकले पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरुप २५ हजार दिन्छौं । त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरु चाँडो लाभग्राही विवरण पठाइदिनुप¥यो ।’
सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्नुभयो । यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गर्नुभएको थियो ।








प्रतिक्रिया