
हेटौंडा, १९ असोज । मकवानपुरको हेटौंडाबाट आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काअनुसार आज बिहान करिब ३ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा सुन फेला परेको हो ।
पक्राउ पर्नेहरूमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । उनीहरू पथलैयाबाट हेटौंडातर्फ आउँदै गर्दा पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसा बराबर रहेको छ ।
पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।









प्रतिक्रिया