
काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्ति गर्नु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भइ स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग उहाँले बाढी पहिरोमा परि मृत्यु हुनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत पुर्याउने कार्यमा कमी नआउने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले जनधनमा क्षति पुर्यायो । सयौँ जनताको मृत्यु भयो । केही अझै बेपत्ता हुनुहुन्छ । सयौँ घाइते हुनुहुन्छ । म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी छ । सुझ बुझ र धैर्यताको लागि देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गर्दछु । सरकार यहाँहरूकै हो । यस विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’
यसको साथै, उहाँले संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा अभ्यास गरिदै आएको परिपूर्ण लोकतन्त्र तथा यसका आधारभूत पक्षहरु मनव अधिकार, लैगिंक समानता, कानूनको शासन, सामाजिकन्याय र सामाजिक सुरक्षाको विषयमा प्रकाश पर्नु भएको थियो ।









प्रतिक्रिया