४ श्रावण २०८३, सोमबार

दशैंमा बसको अग्रिम टिकट अनलाइनबाटै, दैनिक ४२ हजारको संख्यामा अग्रिम टिकट बुकिङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौं र पोखराबाट देशभरका ४४ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । अब यात्रुहरूले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

बससेवाकाअनुसार बुधबार ४४ गन्तव्यको मात्र टिकट बुकिङ खुला गरिएको हो । जसमा काठमाडौंबाट अर्घाखाँची, भोजपुर, विराटनगर, वीरगन्ज, बिर्तामोड, बोदेबर्साइन, बुटवल र छेटछेट जाने यात्रुले बुधबारदेखि अग्रिम टिकट बुकिङ गर्न सक्छन् ।

त्यसैगरी, काठमाडौंबाट दमक, धरान, गुल्मी, जनकपुर, काँकडभिट्टा, कृष्णनगर, लामाबगर, लुम्बिनी, पाल्पा, पोखरा, राजविराज, सिलगढी, मुक्तिनाथ, गौर, जोमसोम, चितवन, डडेलधुरा, नयाँ दिल्ली, धादिङ, धनगढी, पोखरा र स्याङ्जा जाने यात्रुले टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ ।

बससेवाकाअनुसार पोखराबाट बर्दिया, भैरहवा, भुरीगाउँ, विराटनगर, वीरगन्ज, बुटवल, दाङ र धनगढी जाने यात्रुले पनि अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । अन्य गन्तव्यमा १२ गते शनिबारदेखि टिकट बुकिङ खुल्ला गर्ने र यात्रुले सोही दिनदेखि टिकट बुकिङ गर्न सक्ने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताउनुभयो ।

खनालकाअनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । साथै, दशैंमा गएका यात्रुहरूले फर्किन पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमा नै बसेर टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ ।

नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने बससेवाले जनाएको छ ।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरु गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै बढाइएको छ । बससेवामार्फत् अहिले दैनिक ४२ हजारभन्दा धेरै टिकट बुकिङ गर्न सकिन्छ ।’

बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ संख्यामा टिकट घरमा बसीबसी मोबाइलबाट बुकिङ गर्न सकिने बससेवाले जनाएको छ ।