
काठमाडौं, ९ असोज । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित छिन् । विश्वव्यापी मञ्चमा आफ्नो खेल प्रदर्शन गर्न उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छन् ।

काठमाडौं स्पाइकर्समा आबद्ध भएकी २० वर्षीया एरोक्टेसँग युरोपियन यू-१६ च्याम्पियनसिप, युरोपियन यू-१७ च्याम्पियनसिप र विश्व यू-१९ च्याम्पियनशिप जस्ता प्रतिष्ठित टुर्नामेन्टहरूमा राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । उनले सन् २०२२ मा यू-१८, यू-१९ र यू-२१ मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै टर्कीका लागि एक प्रमुख खेलाडीको रूपमा आफ्नो उपस्थिति स्थापित गरेकी छन् । क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, टर्की काडिनलर भलिबल लिग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएर टर्कीका शीर्ष टोलीहरूका लागि खेलेको अनुभवसमेत हासिल गरिसकेकी छन् ।
काठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्, ‘बलियो र सन्तुलित टिम निर्माण गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नै हामीले पेलिन एरोक्टेलाई साइन गरेका हौँ । टिममा उनले बहुमूल्य अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकता ल्याएकी छिन् । यसले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ । हामी उनको खेल्ने कलाले हाम्रा स्थानीय खेलाडीहरूलाई कसरी बलियो बनाउँछ भनेर हेर्न तत्पर छौँ ।’










प्रतिक्रिया