३२ असार २०८३, बिहिबार

रविमाथिको अनुसन्धान रोक्ने प्रयास कानुनी राज्यमाथिको उपहास : शंकर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ९ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताउनुभएको छ ।

कैलालीको धनगढीमा बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित नभएको बताउनुहुँदै निःसर्त सहयोग गर्नुपर्ने बताउनु भएको हो । पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उनीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताउनु भएको छ ।

अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उहाँको भ्रमण अत्यन्त सफल ढंगले भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ।’

मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन गरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो,‘हामी संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहन्छौं, संविधानका सबल पक्ष र कमजोर पक्ष खोज्न चाहन्छौं,’।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी–व्यवसायीमा आशा जागेको, अर्थतन्त्रमा सुधारको लक्षण देखिएको, वैदेशिक लगानी भित्रिने क्रम सुरू भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलको भनाइ छ ।