
काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राप्रपा नेता रवीन्द्र मिश्रको हालैको फेसबुक पोस्टलाई लिएर असन्तुष्टि जनाएको छ ।
प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले आज बिहान आफ्नो फेसबुकमार्फत मिश्रको पोस्टलाई लिएर आपत्ति जनाउनुभएको हो ।
दाहालले भन्नुभएको छ, ‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ । जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नु भयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ । उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’
यस्तै, पञ्चायती व्यवस्थाको आलोचना गर्दै प्रचण्ड सचिवालयले भनेको छ, ‘पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र मिश्रजी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?

यस्तो थियो, हिजो प्रचण्डसँग भेटेपछि मिश्रले फेसबुकमा लेख्नुभएको स्टाटस:
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।
“अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।” लामो व्याख्या सहित सारमा मैले यही भनेँ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो:
१। यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।
२। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन्।
३। द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
४। राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।
५। देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।
६। अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
७। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।
कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ/वित्नेछ भन्नेमा संभवत: उनीहरू अनभिज्ञ थिए।
म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।
यो पनिः
प्रतिक्रिया