
काठमाडौं, ८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजअन्तर्गत आज ओमानको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदैछ ।
नेपालले यसअघि खेलेका यस सिरिजका तीनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।
नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।
क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
त्यस्तै, देव खनाललाई ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा राखिएको छ ।
नेपालले लिग-२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ६ खेल हार बेहोरेको छ ।
त्यस्तै, ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजा विहीन हुँदा अंक बाँडेको छ ।








प्रतिक्रिया