
अन्जनी कुमार अधिकारी, उदयपुर, ५ असोज । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुँदै आएको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष पनि सञ्चालन हुने भएको छ । शनिबार बसाहा क्लब बसाहाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो ।
क्लबले दिएको जानकारीअनुसार बसाहा क्लब स्थापनदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिताको यस वर्ष भने दशौं संस्करणको गोल्ड कप प्रतियोगिता हुनेछ । प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको संयोजनमा हुनेसमेत आयोजकले जानकारी दिएको छ । २००७ सालका क्रान्तिका योद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लबले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा ८ टिम सहभागी हुने बसाहा क्लबका सल्लाहाकारसमेत रहनुभएका शेखर राईले जानकारी दिनुभयो । यस वर्षको दशौं संस्करणको गोल्डकप प्रतियोगितामा आयोजक बसाहा क्लबसहित साविकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिंग एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौं, सलेहस क्लब सिराहा र संकटा एफसी काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता यही असोज १७ गतेबाट असोज २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगदसहित ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, उपविजेताले २ लाख २५ हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने बसाहा क्लबका अध्यक्ष गौतम राईले बताउनुभयो । प्रतियोगितामा हरेक दिन ५ हजार नगदसहित म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको फाइनलमा विभिन्न सात विधाका खेलाडीहरुलाई जनही नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडलसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
यस बर्षको दशौं संस्करणको नारदमुनी गोल्डकपमा ४० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । आयोजकले गोल्डकपलाई सधै निरन्तरता दिन र विभागीय टोलीहरूलाईसमेत समेटेर अझ बृहत तरिकाले गोल्डकप सञ्चालन गर्न अक्षयकोष निर्माण गर्न लागिएको पनि जानकारी दिएको छ ।









प्रतिक्रिया