
काठमाडौं, ५ असोज । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ ।
भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपालका कप्तान सुवास बमले गरेको प्रहार फ्रेममा नपर्दा पहिलो अग्रता लिन असफल भएको थियो । नेपालका गोलरक्षक पेम्बा नोर्बुले पनि पाकिस्तानी प्रहारलाई लगातार बचाए पनि ८१औं मिनेटमा नेपालले गोल खान पुगेको थियो ।
पाकिस्तानका अब्दुल सामदले गरेको कर्नर किकलाई मोहमद तल्हाले हेडर गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि नेपालले बराबरीका लागि प्रयास गरे पनि पाकिस्तानको रक्षात्मक लाइन बलियो रह्यो र अन्ततः पाकिस्तान विजयी भयो । यस जितसँगै पाकिस्तानले च्याम्पियनसिपतर्फको यात्रामा महत्वपूर्ण ३ अंक लिएको छ ।
अब नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र सेप्टेम्बर २५ मा भुटानसँग खेल्ने छ भने पाकिस्तानले भुटानविरुद्ध सेप्टेम्बर २३ मा र सेप्टेम्बर २५ मा श्रीलंकासँग खेल्ने छ ।









प्रतिक्रिया