३१ असार २०८३, बुधबार

नेपाल ओमानसँग १ विकेटले पराजित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान आकिब इलियासले २९ रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर गुलशन झाले सर्वाधिक ५ विकेट लिएका थिए भने किरण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले एकएक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए भने गुलशन झाले ५३ तथा आरिस सेखले ३५ रन बनाएका थिए ।

जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो ।

लिग-२ को अंक तालिकामा नेपालको ६ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा रहेको छ ।

त्यस्तै, ओमानको भने ५ खेलमा ५ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।