
काठमाडौं, १ असोज । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ ।
गएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो हार बेहोरेको हो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको थियो ।
नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाएका थिए भने सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भीम सार्कीले १८, गुलशन झाले १५, कुशल मल्लले १२ रन बनाएका थिए ।
त्यस्तै, कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, दिपेन्द्र सिंह ऐरीले ८, सोमपाल कामीले ६ रन बनाएका थिए ।
त्यसैगरी, क्यानडाका बलर डिलोन हेयलिगेरले सर्वाधिक ५ विकेट लिएका थिए भने अखिल कुमार र अंश पटेलले २/२ विकेट लिएका थिए । त्यस्तै, साद बिन जफरले एक/एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । क्यानडाका लागि कप्तान निकोलस कृतनले सर्वाधिक ७३ रन बनाएका थिए भने नवनीत धालिवालले ४८ रन बनाएका थिए ।
त्यस्तै, नेपाली बलर सोमपाल कामी र ललित राजबंशीले २/२ तथा सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए ।
यो जितपछि क्यानडाले लिग-२ मा ९ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै, नेपालको भने लिग-२ मा यो चौथो हार हो । ५ खेलमा एक मात्र जित हासिल गरेको नेपालको २ अंक छ र अंक तालिकामा सातौं स्थानमा छ ।
अब नेपालले अर्को खेल बुधबार ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।








प्रतिक्रिया