
काठमाडौं, ३० भदौ । राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकाका तीनैवटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो । तालिम प्रदान गरिएका विद्यालयहरु गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, श्री सिद्धिमंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम गत भदौ २५ गतेदेखि भदौ २८ गतेसम्म सञ्चालन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु, सहायक प्रधानाध्यापकहरु, शिक्षकहरुलगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरुको उपस्थितिमा तालिम सञ्चालन गरिएको थियो ।
गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गयाप्रसाद उपाध्यायले यस्ता सुरक्षासम्बन्धी ज्ञानवर्दक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यस्को प्रभावकारिता अझ बढ्ने बताउनुभयो ।
यसैगरी, सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक मीनबहादुर अछामीले तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाइने बताउनुभयो । साथै, उहाँले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरुमासमेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थीलगायत शिक्षकहरुलाईसमेत दिन सके यसले संरक्षित वातावरणमा पठन पाठनमा सहयोग पुयाउने गान्धी आदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेको भनाइ रहेको थियो । यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्तरताकालागि आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबाबु रेग्मीले आग्रह गर्नु भएको थियो ।
तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्णप्रसाद खनालले गर्नुभएको थियो भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलकोसमेत उपस्थिति रहेको थियो । सुषमा पोखरेलकाअनुसार दिनप्रतिदिन सुरक्षासम्बन्धी समस्याहरु बढ्दै गइरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सीपहरु सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गर्ने बताउनुभयो । प्रशिक्षणका क्रममा सहभागी किशोरीहरुले सुरक्षाका विभिन्न समस्याहरु बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको कुरा जानकारी गराएका थिए ।








प्रतिक्रिया