
काठमाडौं, २३ भदौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।
पहाडीले यसअघि २०८० असोज १७ गतेदेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गर्नुभएको छ ।
पहाडीले २०४९ चैत २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभई २०५१ फागनु १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो भने उहाँ २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।













प्रतिक्रिया