शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति

दैनिक नेपाल २०८१ भदौ २० गते ११:२३

काठमाडौं, २० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२औं सम्मेलनमा सहभागिता हुन नेपाल आउनुभएका मञ्चका सदस्य मुलुकहरुका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गर्नुभएको छ ।

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पार्नुभयो । उहाँले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले सम्मेलनले दक्षिण एशियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्धहोस् भन्ने शुभकामना दिनुभयो । ‘समग्र दक्षिण एशिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरुको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु’, राष्ट्रपतिको भनाइलाई उद्धृत गर्दै उहाँको सचिवालयले जानकारी दियो ।

राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरुसँग यस संस्थाको साझा उद्देश्यहरु प्राप्त गर्न र चुनौतिहरुविरुद्ध सामुहिकरुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिवद्ध रहनेसमेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित