३० जेष्ठ २०८३, शनिबार

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, ५ अर्ब बराबरको अग्राधिकार शेयर जारी गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । आज बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्विकृती पश्चात् जारी हुने गरि ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्ताव पेश गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको छ ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताउनुभयो । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उहाँले सभामा जानकारी गराउनु भयो।

सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार नहुने भएकोले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।

साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पुँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी “अग्राधिकार शेयर” जारी हुने बैंकले जनाएको छ ।