
काठमाडौं, १६ भदौ । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नाडा अटो शो २०२४ मा चर्चित चिनियाँ इलेक्ट्रिक गाडी (इभी) निर्माता स्काईवेलले आक्रामक बुकिङ गर्न सफल भएको छ ।
आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले १ सय २६ युनिट बुकिङ गरेको हो । शनिबारसम्म स्काईवेलले ९९ युनिट गाडीको बुकिङ प्राप्त गरेको थियो । आइतबार थप २७ युटिन गाडी बुकिङ प्राप्त गरेको हो । ‘हामीले प्रिमियम गाडीमा सम्भवतः सबैभन्दा धेरै गाडी बुकिङ गरेका हौँ ।’ स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले भन्नुभयो ।
उहाँकाअनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो । नाडा अटो शोमा स्काईवेल एसयूभी बी ११ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्जको इभी सार्वजनिक गरिएको थियो । स्काईवेलले ल्याएका नयाँ गाडीमा ५ सय २० किलोमिटर रेन्ज भएको ७१.९८ किलोवाट आवर र ४ सय १० का लागि ५१.९२ किलोवाट आवरको ब्याट्री अप्सन छ ।
स्काईवेल इभीको नयाँ भर्सनका दुवै गाडीको मूल्यमा शोभरि छुट दिइएको थियो । जी मोटर्सकाअनुसार ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको इभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीवालाको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहे पनि नाडा अटो शोमा ४ सय १० किलोमिटर रेन्जको बीई ११ को ७५ लाख ९० हजार, ५ सय २० किलोमिटर रेन्जको बीई ११ को ८५ लाख ९० हजार थियो । दुवै प्रकारका गाडीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान भएको छ । एकपटक चार्ज गर्दा नेपालमा सबैभन्दा धेरै ६ सय २० किलोमिटर रेन्ज दिने ‘स्काईवेल ईटी ५’ गाडी सन् २०२३ को नाडा अटो शोमा जी मोटर्सले ल्याएको थियो ।
सिंगल चार्जमा ६ सय २० किलोमिटर दुरी तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याकसहित अघिल्लो नाडा अटो शोमा स्काईवेल नेपालमा सार्वजनिक भएको थियो । ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) हुने स्काईवेलको आफ्नै उत्पादन हो ।
प्रबन्ध निर्देशक गेलालकाअनुसार १ सय ५० किलोवाट मोटर क्यापासिटी, सेफ्टीमा ५ स्टार रेटिङ प्राप्त छ । यस्तै, अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषता छन् । दुईवटा लक्जरी फोल्डेबल सिट पनि यो गाडीमा रहेको विशेषता हो ।
स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर इभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ ।
यसको उच्च गति १ सय ६० किलोमिटर प्रतिघण्टा भन्दा बढी छ । स्काइवेल इटी ५ को मूल्य नेपाली बजारमा १ करोड १५ लाख रुपैयाँ रहे पनि नाडा अटो शोमा ५ लाख रुपैयाँ छुट दिइएको थियो ।
स्काईवेलका विद्युतीय सवारीहरू जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत धेरै देशहरूमा लोकप्रिय छन् । नेपालमा भक्तपुरसँगै जी मोटर्सले इटहरीसहित विभिन्न आठ स्थानबाट स्काईवेल बिक्री गर्दै आएको छ ।








प्रतिक्रिया