
काठमाडौं, १६ भदौ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा चिनियाँ इलेक्ट्रिक गाडी निर्माता स्काईवेलले उल्लेखनीय सफलता हासिल गरेको छ । नाडा अटो शो सकिन एक दिन बाँकी छँदै शनिबार स्काईवेलले ९९ वटा गाडीको बुकिङ प्राप्त गरेको छ, जुन प्रिमियम सेग्मेन्टमा एक दुर्लभ उपलब्धि मानिएको छ ।
स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक जी मोटर्सले यस उपलब्धिलाई विशेष रूपमा मनाएको छ । नाडामै रहेको स्काईवेलको स्टलमा ९९ वटा गाडी बुक भएको उपलक्ष्यलाई केक काटेर मनाइएको हो ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले ग्राहकहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्नुभएको छ । गेलालले भन्नुभएको छ, ‘प्रिमियम इभी एसयूभीलाई ग्राहक महानुभावहरुको माया र उत्साहप्रद बुकिङले हामीले ९९ बुकिङ लिन सफल भएका छौँ । सबैले अत्याधिक माया र मिडिया कभरेज गरिदिनु भई हाम्रो सफलता एवम् उत्प्रेरणालाई बल प्रदान गरिदिनुभएकोमा हार्दिक धन्यवादसहित साधुवाद व्यक्त गर्दछु । आइतबार नाडा अटो शोको अन्तिम दिन अझै बुकिङ गरी स्पेशल मूल्यलाई लक गर्नुहुन सबैमा अनुरोध छ ।’
नाडा अटो शोमा स्काईवेलका गाडीहरूले विशेष आकर्षण बटुलेका छन् । गेलालका अनुसार अधिकांश उपभोक्ताहरूले लक्जरी र कम्फर्टेबल इलेक्ट्रिक गाडीको खोजीमा स्काईवेललाई उत्तम विकल्पको रूपमा हेरेका छन् । कम्पनीले शो अवधिभर सबै मोडलमा ५ लाख रुपैयाँसम्मको विशेष छुट प्रदान गरिरहेको छ ।
स्काईवेलको लोकप्रियताको मुख्य कारणहरूमा यसको उच्च रेञ्ज, उन्नत फीचर्स र उच्च ग्राउन्ड क्लियरेन्स रहेका छन् । कम्पनीका अनुसार स्काईवेल नेपालमा सबैभन्दा लामो रेञ्ज दिने इलेक्ट्रिक गाडी हो । इटी ५ मोडलले ६२० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्छ, जुन इलेक्ट्रिक गाडी क्षेत्रमा सर्वोच्च मानिन्छ ।
स्काईवेलको आफ्नै ब्याट्री प्याक र अन्तर्राष्ट्रिय स्तरमा स्थापित ब्राण्ड इमेजले पनि नेपाली बजारमा यसको आकर्षण बढाएको छ ।
कम्पनीले नाडा अटो शोमा तीन वटा भेरियन्ट प्रदर्शनमा राखेको छ- इटी ५ र बीई ११ का दुई भेरियन्ट । जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेशल मूल्य ४१० किमी बिई ११ को ७५ लाख ९० हजार रुपैयाँ, बिई ११ को ५२० किमीको मूल्य ८५ लाख ९० हजार रुपैयाँ र एबम ईटी ५ को मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ ।
स्काईवेलका गाडीहरूले सुरक्षा मापदण्डहरूमा पनि उच्च स्थान हासिल गरेका छन् । गेलालले नेपालको सडकको अवस्थालाई ध्यानमा राखी स्काईवेलले उच्च सुरक्षा रेटिङ प्राप्त गरेको बताउनुभयो । स्काईवेलका विद्युतीय सवारीहरू जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत धेरै देशहरूमा लोकप्रिय छन् । स्काईवेलका गाडीहरूले उपभोक्ताहरूलाई आरामदायी यात्रा प्रदान गर्ने कम्पनीको विश्वास छ । नेपाली बजारमा स्काईवेलको यो सफलताले देशमा इलेक्ट्रिक गाडीहरूप्रति बढ्दो रुचि र प्रिमियम सेग्मेन्टमा गुणस्तरीय विकल्पहरूको मागलाई प्रतिबिम्बित गरेको देखिन्छ ।
‘स्काइवेल भनेको आफैमा विश्वस्तरीय ब्राण्ड हो । अन्तर्राष्ट्रिय स्तरमा पहिचान भएको ब्राण्ड भएकाले उपभोक्ताहरु आफैले ब्राण्डलाई चिन्नुहुन्छ’ प्रबन्ध निर्देशक गेलालले भन्नुभयो, ‘सुरक्षाका आधारमा पनि स्काइवेल वेष्ट नै छ । नेपालको रोडको अवस्था हेरेर स्काइवेल हाई सेफ्टी रेटिङ स्केल भएको ब्राण्ड पनि हो, यसकारण सेफ्टीको हिसाबले पनि यो ब्राण्डमा आकर्षण बढेको हो ।’











प्रतिक्रिया