
काठमाडौं, ५ भदौ । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
प्रथम महिला प्रधानमन्त्री पत्नी राधिका शाक्यले पानसमा दीप प्रज्वलन गरी वार्षिकोत्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका सहचरी २०८१ को विमोचन पनि गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, आमाको घरकी संस्थापक दिलशोभा श्रेष्ठ र फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै शाक्यले समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती संघले योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो । शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोप पीडितको सेवा लगायत विविध क्षेत्रमा संघले विशेष योगदान पुर्याएको चर्चा गर्दै उहाँले आउने दिनमा अझ सक्रियता बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रमकी विशिष्ट अतिथि मुख्यसचिव लीलादेवी गड्तौलाले समाजसेवी स्नेह केन्द्र दोलखाका अध्यक्ष सृजना कार्की र दृष्टि फाउण्डेसन नेपाल धनगढी कैलालीका कल्पना भट्टलाई सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा मुख्यसचिव गड्तौलाले नेपाल प्रहरीसँग आबद्ध भएर श्रीमती संघले मानवीय सेवामा उल्लेखनीय कार्य गर्दै आएको बताउनुभयो । संघले नागरिकको हित तथा विभिन्न लोककल्याणकारी थप उदाहरणीय काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरिता भुसालले मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो । संघले जनताको सेवामा समर्पित भएर अमूल्य योगदान पुर्याएको उहाँले बताउनुभयो । सोही कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, नेपाल पुलिस क्लबका राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारी र प्रहरी सहायक हवलदार पवित्रा खड्कालाई सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा कुँवरले विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा समाजमा देखा परेका नवीनतम समस्याहरूको समाधानमा संघले भूमिका खेल्नु पर्ने बताउनुभयो । थप समन्वय र सहकार्यको क्षेत्र पहिचान गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा कोइरालाले नेपाल प्रहरी श्रीमती संघले सामाजिक क्षेत्रमा पुर्याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा संघले प्रवाह गर्ने सेवालाई अझ फराकिलो बताउन सुझाव दिनुभयो ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले नेपालभर रहेका प्रहरी विद्यालयहरूमध्ये एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल नेपाल पुलिस स्कुल साँगाका समादेशक प्रहरी नायव उपरीक्षक मीनबहादुर कुँवर र नेपाल पुलिस स्कुल सामाखुसीका प्रधानाध्यापक रामप्रसाद भुसाललाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले २०८० सालको एसईई परीक्षामा प्रहरी विद्यालयहरूबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकमा अध्ययनरत सम्भव अधिकारी तथा नेपाल प्रहरी स्कुल सामाखुसीमा अध्ययनरत प्रशान्त केसी, श्रेया जोशी र प्रशान्त कार्कीलाई प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । उहाँले संघका विभिन्न कार्यहरूमा सहयोग पुर्याउने महानुभाव एवम् प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै स्थापना कालदेखि संघले गरी आएको सामाजिक, परोपकारी एवम् मानव कल्याणकारी कर्म आगामी दिनमा अझ निस्वार्थ भावले सम्पन्न गरी संघलाई मानव भावको उत्कृष्टता केन्द्रका रूपमा विकास गर्न सम्पूर्ण पदाधिकारीहरू मन, वचन र कर्मले दृढ रहेको बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष बसुन्धारा लामा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव, निजामती कर्मचारी श्रीमती संघकी कार्यवाहक अध्यक्ष, सैनिक श्रीमती संघकी कायम मुकायम अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्षलगायत तीन वटै संघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतसमेत सहभागिता थियो ।








प्रतिक्रिया