२६ असार २०८३, शुक्रबार

‘मनमोहनपछि नेपालमा केपी ओलीले कम्युनिष्ट चिनाए, माधव र झलनाथको नेतृत्व गुमनाम’

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेकपा (एमाले)का उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनमोहन अधिकारीपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट चिनाएको बताउनुभएको छ ।

शनिबार नेकपा एमाले बिगु गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च (दोलखा)को तेस्रो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले २०५१ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको नमूना सरकार तथा २०७२ साल र त्यसयता एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक–फरक समयमा नेतृत्व गरेको सरकारले नेपालमा कम्युनिष्ट चिनाउनाका साथै कम्युनिष्टले राम्रो काम गर्छन् भनेर देखाउन सकेको बताउनुभएको हो । २०५१ सालको मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दल भएपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक नेपालमा कम्युनिष्ट पार्टीको सरकार बनेको र उक्त सरकारले नौ महिनाको अवधिमा पनि जनमुखी कामहरू गरेको चर्चा गर्नुहुँदै उपमहासचिव गुरुङले ‘आफ्नो गाउँ आफैं बनाऔं’, सामाजिक सुरक्षा भत्ता, नौ ‘स’को अभियान, तीनखम्बे अर्थ नीति अवलम्बन, सन्तुलित विदेश सम्बन्ध जस्ता कामहरू गरेको स्मरण गर्नुभयो । तत्कालीन सरकारले गरेका कामहरू नेपालको विकास र समृद्धिका लागि मार्गदर्शकका रूपमा रहेको तथा समय क्रममा कसैले पनि उल्ट्याउन नसक्ने कदम बनेको उहाँले बताउनुभयो ।

‘०५१ सालमा एमालेले बनाएको सरकार नमूना सरकार थियो । अल्पमत र छोटो अवधिको सरकार भएकाले पार्टीकोे कार्यनीति, विकास निर्माणको योजना, हाम्रोसंगठन निर्माण वा क्रान्तिसँग त्यत्ति धेरै जोडिन नसके पनि मुलतः लोक कल्याणकारी राज्यको अवधारणा अनुसार चलेको थियो,’ उपमहासचिव गुरुङले भन्नुभयो, ‘दुनियाँमा त्यो बेलासम्म लोक कल्याणकारी राज्यको अवधारणामा सरकारहरू नभएका कारण हाम्रो काम जनताले मन पराएका थिए । कसैले नल्याएको सामाजिक सुरक्षाका कुराहरू हामीले ल्यायौँ, त्यसैले हामी पपुलर भयौँ ।’

कम्युनिष्टरू सत्तामा पुग्दा जनजीवीकाको समस्यामा केन्द्रित भएर काम गर्ने गरेको बताउँदै उहाँले त्यसबाट ठूलो परिवर्तन नभए पनि सामाजिक न्याय हुने तर्क गर्नुभयो । ‘कम्युनिष्टले राज्य चलाउने ठाउँमा पुग्दा एकैचोटी ठूलो परिवर्तन भन्दा पनि जनजीवीकासँग जोडिएको सानो–सानो काम गर्न रुचाउँछ । ज्येष्ठ नागरिक र एकल महिलाको सम्मान, गरिब र अल्पसङ्ख्यकको संरक्षण र सुरक्षा, सबै हिसाबले पिँधमा परेको दलित समुदायलाई माथि उठाउने कुरा त्यो आफैंमा एउटा सामाजिक न्यायको कुरा थियो । त्यसै कारण ०५४ सालको निर्वाचनमा हामीले अभूतपूर्व सफलता हासिल गरेका थियौँ ।’ उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले २०७२ साल र त्यसयता एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक–फरक समयमा नेतृत्व गरेको सरकारले गरेको कामका कारण एमाले पार्टी राष्ट्रको बलियो शक्ति बनेको चर्चा गर्नुभयो । ‘पछिल्लो पटक केपी ओली प्रधानमन्त्री बनेपछि एमाले भनेको के हो, कम्युनिष्ट भनेको के हो, स्वाधीनताको मुद्दा, विदेशनीति, राष्ट्रिय राजनीति, आर्थिक समृद्धि, सुशासन, कम्युनिष्टको साशन भयो भने यसरी काम हुन्छ भनेर देखाएको स्थिति छ,’ उहाँले भन्नुभयो, ‘केपी ओलीले गरेका तिनै कामहरूका कारण एमाले सत्ताबाट हट्नु पर्‍यो ।’

भारतले लगाएको नाकाबन्दीको दृढतापूर्वक सामना गरी राष्ट्रिय आत्मसम्मान र स्वाभिमान अभिवृद्धि गरेको, उत्तरी नाका खोलेर नेपालको समुद्रसम्म पुग्ने अधिकारलाई सुरक्षित गरेर विदेश सम्बन्धमा सन्तुलन कायम गरेको, विकास र समृद्धिको अभियानलाई अघि बढाएको, गुमेको भू–भागलाई फिर्ता गरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेकोलगायत काम केपी ओली नेतृत्वको सरकारले गरेको उहाँको भनाइ थियो ।

तर, कम्युनिष्ट पाटी (एमाले) बाटै प्रधानमन्त्री बन्नुभएका माधव कुमार नेपाल र झलनाथ खनाल नेतृत्वको सरकारले कुनै सम्झनलायक काम नगरेको टिप्पणी उहाँले गर्नुभयो । ‘हामी (कम्युनिष्ट) सरकारमा गएका छौँ । तर, मनमोहन अधिकारी र केपी ओलीले नेतृत्व गरेको सरकारबाहेक पार्टी संगठनसँग जोडिएर काम भएको छैन । त्यसकारण यो बीचमा कम्युनिष्टका कुन नेताले के काम गरे भन्ने तपाइँ–हामीलाई सम्झना पनि छैन । किनकी सम्झनालायक काम भएको छैन । हाम्रा तत्कालीन नेता माधव नेपाल र झलनाथ खनालको सरकार विकास, परिवर्तन, राष्ट्रिय स्वाधीनता, सुशासन, समृद्धि कतै पनि जोडिएको छैन ।’ उहाँले भन्नुभयो ।

यस्तै, उहाँले अब एमालेका नेता तथा कार्यकर्ताहरू सबैले माक्सवाद र सुशासनको विषयमा मसिनोगरी अध्ययन गर्नुपर्ने बताए । वडादेखि केन्द्रसम्मको शासन गर्ने तरिका सिक्ने, जनताको काम कसरी गर्ने र सुशासन कायम कसरी गर्ने भन्ने काममा एमाले केन्द्रित हुनुपर्ने भनाइ उहाँको थियो ।

‘आजको हाम्रो चुनौती मञ्चमा आएर भाषण गर्न सक्ने नेताहरू बनायौँ, कुर्सीमा बसेर शासन गर्नसक्ने नेता बनाउनुपर्छ । अनि बल्ल मुलुकमा सुशासन कायम हुन्छ । मैले अनुभूती गरेको कुरा यही हो ।’ उहाँले भन्नुभयो ।

अहिले पनि पालिकाहरूको कामलाई प्रभावकारी बनाउन नसकेको भन्दै उहाँले सम्बन्धित कमिटीहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । त्यसमा सबै केन्द्रीय र सबै तहका नेताहरू केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

पार्टी र सरकारबीच र पार्टी संगठन र जनप्रतिनिधिबीचको सम्बन्ध कहीँ पनि राम्रो हुन नसकेको चर्चा गर्दै उहाँले सम्बन्ध सुमधुर बनाउन जोड दिनुभयो । पालिका दल र पालिका सभाबीचको निरन्तर सम्बन्ध हुनुपर्ने भन्दै नीतिगत कुरा, बजेट, कार्यक्रमिक कुरा, जनतालाई सेवा गर्ने कुरामा सम्बन्ध र समन्वय हुनुपर्ने उहाँको भनाइ छ । एकले अर्कोलाई कमजोर देखेर वा देखाएर पार्टी अघि बढ्न नसक्ने भन्दै उपमहासचिव गुरुङले सम्बन्ध सधै सुमधुर बनाउन नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्नुभयो ।

यसैगरी, उहाँले एमालेभित्र मौलाइरहेको गुटको कारक नेता नभई कार्यकर्ता नै भएको पनि बताउनुभएको छ । कार्यकर्ताले नेताको मुख ताक्ने भन्दा पनि पार्टी र संगठनको कामलाई ध्यान दिएको अवस्थामा पार्टीभित्र कुनै गुट वा उपगुट नुहने उहाँको भनाइ थियो ।

एमाले उपमहासचिव एवम् सञ्चारमन्त्री गुरुङको प्रमुख आतिथ्यता र बिगु गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च सम्मेलन आयोजक कमिटीका संयोजक ओमकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनको उद्घाटन सत्रलाई पार्टीका पोलिटब्युरो सदस्यद्वय आनन्द प्रसाद पोखरेल र ईश्वरी रिजाल, केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय जितवीर लामा र लालकुमार केसीले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेत, बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बालकृष्ण शिवाकोटी र सदस्य कृष्ण भुजेल, बागमती प्रदेश सभा सदस्यद्वय ठूला थामी र उर्मिला सुनुवार, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरी, जिल्ला कमिटी दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरलगायत नेताहरूले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

अधिवेशनले अध्यक्षमा ज्योति जीसी, उपाध्यक्षद्वय अनुराग केसी र पूजा दुलाल, सचिवमा रञ्जन सुवेदी तथा कोषाध्यक्षमा पुष्कर तामाङसहित १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।