
काठमाडौं, १ भदौ । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको एक भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले सो प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ ।
भारत सरकारले उपचार सेवाका लागि हाल बनाउन लागेको तीन सय शय्याको डीपीआर तयार भएकोमा सो अपुग भएकाले हजार शय्याकै बनाइदिन राष्ट्रपति पौडेलले आग्रह गरेपछि भारतीय पक्षले अस्पताल निर्माण भइसकेपछि हजार शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शैयाको डीपीआर सम्बन्धी संरचना तयार गरी त्यसअनुसारको निर्माण कार्यलाई अघि बढाउने बारेमा पहल भएकोमा त्यसलाई हजार शय्याको बनाउने बारेमा राष्ट्रपति पौडेलले विशेष चासो राख्दै आएको बताइएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा केन्द्र स्थापना भएको हो । यो केन्द्रलाई देशकै एक विशिष्ट अस्पतालका रुपमा तथा चिकित्सा शिक्षण प्रतिष्ठानका रुपमा विकास गरिने लक्ष्यसमेत अघि बढाइएको छ ।









प्रतिक्रिया