
काठमाडौं, ३२ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लिमिटेडबीच सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकास्थित बलेफी नदीमा नदी प्रवाहमा आधारित ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । यो आयोजनाको कूल लागत ९.४३ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
अपर बलेफी हाइड्रोपावरले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८० साल मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ ।
कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् । यो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक/संस्थापकहरुको लगानी रहने छ ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४.०७ अर्ब रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सहअगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसबीआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको छ । आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठूलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास लिएको छ ।









प्रतिक्रिया