२२ जेष्ठ २०८३, शुक्रबार

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा ३९ उम्मेदवार मैदानमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि रहनुभएको छ । विक्रमासिंघेले गत महिना जुलाई २७ मा गालेमा भएको र्‍यालीमा चुनाव लड्ने घोषणा गर्नुभएको थियो । विक्रमासिंघे बाहेक उम्मेदवारी दर्ता गर्नेमा दुई बौद्ध भिक्षु र तीन तमिल अल्पसंख्यक पनि छन् । तर, राष्ट्रपतिको निर्वाचनमा भने महिला उम्मेदवार भने नरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

श्रीलंकामा राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने बुधबार अन्तिम दिन थियो । यसका लागि बिहान ९ बजेदेखि ११ बजेसम्मको समय दिइएको थियो । श्रीलंकाको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा उम्मेदवार राष्ट्रपति चुनावमा भाग लिइरहेको बताइएको छ । यसअघि सन् २०१९ मा भएको राष्ट्रपति निर्वाचनमा ३५ जना उम्मेदवारले भाग लिएका थिए ।

श्रीलंकाको कुल जनसंख्या २।२ करोड छ । जसमध्ये १।७ करोड जनताले सेप्टेम्बरमा हुने राष्ट्रपति चुनावमा मतदान गर्नेछन् ।

श्रीलंकामा राष्ट्रपति पदका लागि चार प्रमुख उम्मेदवार छन् । त्यसमध्ये वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेलाई सबैभन्दा ठूलो दावेदार मानिएको छ । विक्रमासिंघेका लागि सबैभन्दा ठूलो चुनौती ५७ वर्षीय सजिथ प्रेमदासाको हो । प्रेमदासा श्रीलंकाको संसदमा विपक्षी दलका नेता हुनुहुन्छ ।

यी बाहेक वामपन्थी नेता अनुरा कुमारा दिसानायका पनि राष्ट्रपतिको दौडमा अगाडि हुनुहुन्छ । अनुराको नेशनल पिपुल्स पार्टीको गठबन्धन श्रीलंकाका युवाहरूमाझ निकै लोकप्रिय छ । चौथो नाम गत हप्ता यो त्रिकोणीय प्रतियोगितामा थपिएको थियो ।

श्रीलंकाको राजनीतिमा ठूलो प्रभाव रहेको राजापाक्षे परिवारले नमल राजापाक्षेलाई राष्ट्रपतिको दौडमा उभ्याएको छ । नमल पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा र पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेका भतिजा हुनुहुन्छ । गत हप्तासम्म राजपाक्षे परिवार रनिल विक्रमासिंघेको समर्थनमा थियो ।

रनिल विक्रमासिंघेले आगामी राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिनुभएको छ । उहाँले श्रीलंकाको दक्षिणपन्थी पार्टी युनाइटेड नेसनलिस्ट पार्टीबाट राजीनामा दिनुभएको छ । विक्रमासिंघेले स्वतन्त्र उम्मेदवारका रूपमा पूर्ण समर्थन पाउने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी हुनुभएको थियो । तर, २०२२ मा ठूलो आन्दोलनले गोटाबायाले राष्ट्रपतिबाट राजीनामा दिन बाध्य पारेको थियो भने उहाँले देश छोड्नु परेको थियो र संसदले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाएको थियो । त्यसयता रनिल विक्रमासिंघे देशको राष्ट्रपतिको रुपमा कार्यरत रहनुभएको छ ।