
काठमाडौं, ३१ साउन । काठमाडौंको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।
गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्यूरोडमा सुन व्यवसाय गर्दै आएका चित्र रञ्जन हजारालाई पक्राउ गरी कारबाही थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
काठमाडौंको न्यूरोडमा यही साउन २५ गते नारायण ज्वेलर्सबाट तीन महिला सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री चोरेर फरार भएकी थिइन् । उक्त विषयमा अनुसन्धान गर्दा चोरीमा संलग्न लिना नकर्मीलाई यही साउन २९ गते ललितपुरको पुलचोकबाट पक्राउ परिएको थियो । थप अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेका सुनका गरगहना न्यूरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएपछि सञ्चालक हजारालाई पनि पक्राउ गरिएको आचार्यले बताउनुभयो ।
दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार प्रहरी वृत्त जनसेवा काठमाडौंमा पठाइएको छ ।
नकर्मीले पहिले पनि चोरी गरेको अन्दाजी १७ ग्रामको सुनको सिक्री सोही ज्वेलर्सलाई बिक्री गरेको खुल्न आएको छ ।
त्यस्तै, उनको साथबाट आधिकारिकता पुष्टि हुन नसकेको अन्दाजी दुई तोला बराबरको सुनको सिक्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया