
काठमाडौं, ३० साउन । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।
मर्जरपछि बनेको आइएमईको चुक्ता पुँजी एक अर्ब नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकता बमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताउनुभयो ।

डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताउनुभयो ।
सोही अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गर्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘सन् २००१ अर्थात् आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो । जापान बस्दा हामी आफैले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरुले आफ्नै कमाइ आफन्तसम्म पुर्याउन झेलिरहेका समस्याहरु देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो ।’ अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले आइएमईलाई चाडैँ नै पब्लिकमा लैजाने जानकारी पनि गराउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।’ रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने विश्वास रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
यस अवसरमा एकीकृत कारोबार पश्चात आइएमई लिमिटेडका अध्यक्ष बन्नुभएकाका हेमराज ढकालले रेमिट्यान्सलाई औपचारिक अर्थतन्त्रमा जोड्दै देशको सामाजिक–आर्थिक रुपान्तरणको संवाहक बनेको आइएमईले अझ सबल र डिजिटल रेमिट्यान्सको लिडरको रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘आइएमई र जीएमईबीचको एकीकृत कारोबार पश्चात् अबको सेवा सञ्जालमा वृद्धि हुनेछ र सेवाग्राहीलाई सहज र सुलभ रेमिट्यान्स सेवा उपलब्ध गराउन थप सक्षम हुनेछौँ ।’
सेवाग्राहीहरुको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दूरदराजसम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्ने तथा सन्तुष्ट ग्राहकको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा एवं विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
स्थानीय स्तरसम्म डिजिटल रेमिट्यान्स सेवा विस्तार गरी आमनागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्नेमात्र नभएर देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा संस्थाले लिएको छ । यसका लागि रेमिट्यान्स कम्पनिहरुको कार्यक्षेत्र विस्तारमा सहयोग गर्न पनि अध्यक्ष ढकालले राष्ट्र बैंकसँग आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले रेमिट्यान्स कम्पनीलाई समयानुकूल क्षेत्र विस्तार गर्न प्रोत्साहन गरिरहेको उल्लेख गर्दै रेमिट्यान्स सेवा शुल्कलाई थप कम हुने अपेक्षा राखिएको बताउनुभयो । आइएमईमा गाभिएको जिएमई रेमिटका अध्यक्ष अर्जुनशर्मा पौडेलले कोरिया जापानलगायतका उदाउँदा श्रम गन्तव्यहरु लक्षित गरी सेवा दिइरहेको जिएमई रेमिटलाई सम्मानजनक रुपमा आइएमईमा गाभिन सफल भएको बताउनुभयो ।
एकीकृत कारोबार पश्चात् आइएमईका नवनियुक्त कार्यकारी प्रमुख दिवाकर पौडेलले यो मर्जरपछि समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पौडेलले भन्नुभयो, ‘रेमिट्यान्स सेवामा प्रयोग हुँदै आएका र आउन बाँकी अन्य प्रविधिलाई कार्यान्वयन ल्याउने तथा डिजिटल रेमिट्यान्सको अवधारणालाई हामीले मुख्य प्राथमिकतामा राखेका छौँ । डिजिटल रेमिट्यान्स तर्फको रुपान्तरणले आइएमईको सेवालाइ थप चुस्त र सुलभ बनाउने छ ।’
आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा पारेको सकारात्मक योगदानको चर्चा गर्दै मर्जरपछि आइएमईले आफ्नो सेवालाई डिजिटलाइज्ड गर्र्दै थप चुस्त बनाउने बताउनुभयो ।








प्रतिक्रिया