
काठमाडौं, ३० साउन । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिकाअन्तर्गतका विभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकहरुको अत्यधिक चहलपहल तथा भ्रमण हुने त्यस क्षेत्रहरुमा ग्राहकहरुको मागलाई लक्षित गरी कम्पनीले भ्वाइस तथा डाटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्यसमेत सम्पन्न गरेको टेलिकमले जनाएको छ ।

जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूईला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले २जी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको ४जी सेवासमेत सञ्चालन गरेको छ ।
ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरुमा भीस्याट प्रविधिलाई माइक्रोवेभ ट्रान्स्मिसनले प्रतिस्थापन गरी २जी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा ४जी सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी २जी तथा ४जी मोबाइल सेवा सञ्चालन गरिएको छ ।

भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्दार कार्यमासमेत सहजता हुने विश्वास कम्पनीको रहेको छ ।















प्रतिक्रिया