
संखुवासभा, ३० साउन । संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन् ।
गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन् । पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुंगा रहेकाले पहिरोसँगै ढुंगा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । पहिरोका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उहाँले स्थानीय सरकारले ढुंगा हटाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ । एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्याइएको छ । गाउँमाथिबाट ट्रयाक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताएका छन् ।
गाउँमा पहिरोका जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे र खाँदबारी–४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायत नगरका टोलीले स्थलगत अवलोकन गरेको छ ।
पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुङ्गा फुटाउने आश्वासन दिनुभयो । केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ । गतवर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयासस्वरूप तारजाली लगाइएको थियो ।








प्रतिक्रिया