
अन्जनी कुमार अधिकारी, उदयपुर, २९ साउन । उदयपुरको कटारी नगरपालिकाको तेह्रौं नगर सभामा चरम विवाद भएको छ । लामो विवादका कारण रोकिएको नगरपालिकाको तेह्रौं नगर सभा यही साउन २७ गते आइतबारदेखि सुरु भएको भएपनि नगर सभामा सभालाई नै छलेर गत आर्थिक वर्षको खर्च अनुमोदन गराउन खोजेपछि विवाद चर्किएको हो । नगरपालिकाले गत आर्थिक वर्षमा आन्तरिक स्रोत बापतको राजस्व लुकाएर नगरप्रमुखले मनोमानी गरेको बजेट कार्यपालिका बैठकले अनुमोद गराउन कोसिस गरेको भन्दै सभाका सदस्यहरुले प्रश्न गरेपछि विवाद सुरु भएको हो ।
कटारी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकामा संघीय सरकारबाट प्राप्त गरेको खानी तथा वन रोयल्टी बापतको राजश्व नगरप्रमुखले मनोमानी ढंगले आफू खुशी खर्च गरेपछि विवाद भएको हो । नगरको १२औं (अघिल्लो वर्ष) नगर सभामा खानी तथा वन रोयल्टी बापतको राजश्वको अनुमान नगरिएको र उक्त राजस्व आर्थिक वर्षको बीचमा प्राप्त आम्दानीलाई कार्यपालिकामा जानकारीसमेत नगराई टिप्पणी आदेशका भरमा खर्च गरेकाले कार्यपालिका सदस्यहरुले यस विषयमा विरोध जनाउदै आएको नगर उपप्रमुख गीता खड्काले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ को बजेट नगरसभाबाट पारित भै योजनाहरु सञ्चालन भइरहेको अवस्थामा नगरसभाले अनुमान गरेको राजश्व भन्दा फरक शीर्षकबाट (वन रोयल्टि र खनिज तथा खानी रोयल्टी) प्राप्त रु १ करोड ७६ लाख ५८ हजार प्राप्त भएकोमा बजेट कार्यपालिका बैठक वा नगर सभामा प्रस्तुत नगरी २०८१ वैशाख १० गते नगरपालिकाको योजना शाखाका सवइन्जिनियर ओमबहादुर मिश्रले टिप्पणी उठाएको प्रमुख प्रशासकिय अधिकृतले निर्णयार्थ पेश गरेको र नगरप्रमुखले सदर गरी कार्यान्वयन गरेको देखिएको उपमेयर खड्काले बताउनुभयो । यो कार्य स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित भएको कार्यपालिका सदस्य तथा वडा नं २ का वडा अध्यक्ष प्रेम थापाको भनाई छ । उहाँ भन्नुहुन्छ ‘योजना शाखामा अन्य सिनियर कर्मचारी हुँदाहुँदै तल्लो तहको प्राविधिकबाट टिप्पणी उठाउनु, वैशाख ११ गते नै कार्यपालिकाको बैठक बसेकोमा उक्त टिप्पणीको विषयमा बैठकमा जानकारी नगराउनु र २०८१ वैशाख २१ गतेको नगर सभामासमेत यो विषय अनुमोदनको लागि पेश नगर्नुले यस विषयमा आफूहरुको असहमति रहेको छ ।’ आन्तरिक स्रोत बापतको राजस्व लुकाएर अहिले उक्त विषय घुमाउरो पारामा सभाबाट पास गराउन कोसिस गरेपछि तेह्रौं नगर सभा भाँडिएको हो ।
यसैबीच, यो विषययमा साउन १६ गतेको कार्यपालिका बैठकमा अनुमोदन नगर्ने र बाँकी विषयहरुमा नगर सभा सम्पन्न गर्ने सहमति भएअनुसार नगरसभा बोलाइको भएपनि नगर सभामा आव २०८०/०८१ को सम्पूर्ण व्यय अनुमोदन गर्ने भन्ने उल्लेख गरेर घुमाउरो पारामा पास गराउने कोसिस गरिकोले पनि कार्यपालिकाका सदस्यहरुले यस विषयमा प्रश्न उठाएपछि सभा सम्पन्न भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत बैठक पुस्तिका बोकेर सभाबाट निस्किएको र सम्पर्क विहीन भएको कार्यपालिका सदस्य तथा वडा नंं ११ का वडा अध्यक्ष अनन्त हायुले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले कार्यपालिका बैठकमै यो विषय अनुमोदन नगर्ने निर्णय गरेका थियौँ, तर सभामा घुमाउरो पारमा ढोका हुँदाहुँदै जस्केलाबाट यो विषय छिराएर अनुमोदन गराउने प्रयास गरियो, सुरुमा हामी सबै अन्यौलमा पर्यौँ । पछि यो १ करोड ७६ लाख ५८ हजारसमेत सम्पूर्ण खर्च अनुमोदन गर्ने शीर्षकमा ल्यायको हो भनी सभाका सदस्यहरुले प्रश्न उठाएपछि नगर प्रमुखले जवाफ नै नदिई सभा सम्पन्न भएको घोषणा गर्नुभयो । निर्णयनै नलेखी प्रमुख प्रशासकीय अधिकृत बैठक पुस्तिका बोकेर सम्पर्क विहीन हुनुभयो ।’ सभामा उठेका प्रश्नको जवाफनै नदिई सभामा कुनै पनि विषयमा दफावार छलफल नगरी सभा सकिएको भन्दै प्रमुख प्रशासकीयअधिकृत सम्पर्क विहीन भएपछि नगरप्रमुखले सोमबार ९ बजे बस्ने गरी नगर सभा स्थगित गरेको जानकारी गराएको उहाँले बताउनुभयो ।
उता, आइतबारै नगरसभा सम्पन्न भएको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘नगर सभा हामीले आइतबारनै सम्पन्न गरेका हौँ । सभा सम्पन्न भएको घोषणा भैसकेपछि केही साथिहरुले प्रश्न उठाउनु भयो । त्यसको छलफलको लागि सोमबार ९ बजे बसेर छलफल गरौला भनेका हौँ, सभाकै निरन्तरता भनेका छैनौँ, सभामा नीति तथा कार्यक्रम बजेटलगायतका विषयहरु अनुमोदनका लागि प्रस्तुत गर्दा सबैले ताली बजाउनुभयो । मैले कार्यक्रम समापन गरेँ । नगर सभा सम्पन्न भएपनि सभाका सदस्यले उठाउनु भएको प्रश्नहरुप्रति म गम्भीर छु । यसको साथीहरुले छानबिन गर्नुहोस् गल्ती भएको ठहरिए, म भोग्न तयार छु यसको बाहानामा नगर सभालाई बन्दक बनाएर नगरपालिकालाई फेल गराउनु हुँदैन ।’
आइतबार विवाद भएपछि सोमबार नगरसभालाई निरन्तरता दिने सहमति भएको भएपनि सोमबार सभामा प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराई सम्पर्कमा नआएपछि नगर सभामा के गर्ने भन्नेमा अन्यौल भयो । नगर प्रमुखलेसमेत उपस्थित जनाउन नमानेपछि नगरपालिकाको उपप्रमुखको उपस्थितिमा बहुमत सदस्यहरुले माइन्युट गरी आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट पास गरेको कार्यपालिका सदस्य तथा वडा नं १४ का वडा अध्यक्ष अम्बर खुलालले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले हिजो उपस्थितिमा मात्र हस्ताक्षर गरेका थियौँ । त्यो बैठक पुस्तिकासहित प्रमुख प्रशासकीय अधिकृत सम्पर्क विहीन भएपछि नगरसभालाई पूर्णता दिन हामीले आज सभालाई निरन्तरता दिँदै कुल ८६ करोड ८१ लाख ६४ हजार आठ सय त्रिचालिस रुपैयाँ अनुमानित बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८१ पास गर्ने साथै टिप्पणी आदेशबाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार हाललाई पास नगर्नेसहित महत्वपूर्ण निर्णय गर्दै नगर सभालाई पूर्णता दिएका छौँ भने नगरप्रमुखसमेत आज उपस्थित नहुनु भएकाले कार्यन्वयनका लागि नगर प्रमुखलाई अनुरोध गरेका छौँ ।’
कटारी नगरपालिकाका नगर सभाका बहुमत सदस्यहरुले टिप्पणी आदेशबाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार रुपैयाँलाई अनुमोदन नगरी तत्काल आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट पास गरेर अघि बढ्नु पर्ने र उक्त रकमका विषयमा छानबिन गर्नुपर्ने माग राख्दै अएका छन् । उनीहरुले नगरपालिका स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित कसैको मनोमानी तरिकाबाट सञ्चालन नहुनेसमेत बताएका छन् ।









प्रतिक्रिया