
चितवन, २९ साउन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले कलेजको १६औं वार्षिकोत्सवका अवसरमा भवन निर्माणमा स्थलमा नै आएर चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई २ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुलेसमेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दै पौडेलले चौतारीको बन्दै गरेको भवनले पत्रकारहरुको संस्थागत विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने बताउनुभयो । चौतारीको भवनका लागि आफूले २ वर्ष अगाडि चौतारी साँझ कार्यक्रममा पनि सहयोग गरेको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले भवनको अवलोकन पनि गर्नुभएको थियो ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गरेकोमा चौतारी चितवनको तर्फबाट धन्यवाद दिनुभयो । सेन्ट्रल कलेजले जिल्लामा खेलकुद, सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण साथ र सहयोग दिँदै आएको भन्दै अध्यक्ष पण्डितले सबैको साथ र सहयोगबाट चौतारीको तीन तले भवन तयार हुँदै गरेको बताउनुभयो । चौतारीको भवन निर्माणमा होस्टेमा हैंसे गरेर साथ र संगठनप्रति सेन्ट्रल कलेजले दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताउनुभयो ।
समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डै ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवन तीन तलाको बन्दैछ । भवनको सबै ढलानको काम सकेर अहिले प्लास्टर गर्ने क्रम अन्तिम चरणमा छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले २०७९ वृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भुईँ तलामा कार्यालय कक्ष, पहिलो तलामा हल र तेस्रो तलामा आवासिय सुविधासहितका कोठाहरु रहने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।









प्रतिक्रिया