२१ जेष्ठ २०८३, बिहिबार

पाकिस्तानी आईएसआईका पूर्वप्रमुख फैज हमीद पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामबाद, २९ साउन । पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्वप्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ पर्नुभएको छ ।

पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उहाँलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।

पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उहाँमाथि कोर्ट मार्सल सुरु गरेको छ । फैजलाई पूर्वप्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्वप्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो ।

गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीदविरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो । यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो।

फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुनुहुन्छ । उहाँले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको महानिर्देशकको रूपमा पनि काम गर्नुभएको थियो ।

फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो । हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना हुनुभएको थियो । उहाँले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गर्नुभयो । त्यसपछि उहाँ पाकिस्तानी सेनाको बलोच रेजिमेन्ट कमीशन हुनुभएको थियो ।