
नयाँदिल्ली, २७ साउन । लामो समयदेखि बिरामी रहनुभएका भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको शनिबार राति निधन भएको छ । उहाँ ९३ वर्षको हुनुहुन्थ्यो ।
उहाँले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिनुभयो, जहाँ उहाँ पछिल्लो केही हप्तादेखि भर्ना हुनुहुन्थ्यो । पारिवारिक स्रोतकाअनुसार उहाँका छोरा अस्पतालमा हुनुहुन्छ र उहाँको परिवारका अन्य सदस्यहरू अन्तिम संस्कारका लागि आइतबार दिल्ली आउँदैछन् ।
नटवर सिंहले २००४–०५ मा युपीए आई सरकारमा भारतको विदेश मामिला मन्त्रीको रूपमा सेवा गर्नुभएको थियो । यस अवधिमा प्रधानमन्त्रीको रुपमा मनमोहन सिंह हुनुहुन्थ्यो । उहाँले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गर्नुभएको थियो भने सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा रहनुभएको थियो ।
नटवर सिंहको जन्म १६ मे १९३१ मा राजस्थानको भरतपुर जिल्लामा भएको थियो । उहाँको पूरा नाम कुँवर नटवर सिंह थियो र उहाँ शाही परिवारका हुनुहुन्थ्यो ।
उहाँले मेयो कलेज, अजमेर र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा हासिल गर्नुभएको थियो । त्यसपछि उहाँ भारतीय विदेश सेवामा सामेल हुनुभयो र १९५३ मा आफ्नो सेवा सुरु गर्नुभएको थियो ।








प्रतिक्रिया