
काठमाडौं, २६ साउन । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा भारत भाग्नुअघि प्रधानमन्त्री पदबाट राजीनामा नदिएको दाबी गरिएको छ । उहाँका छोरा सजिब वाजेदले यस्तो दाबी गर्नुभएको हो ।
‘मेरी आमाले आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन । उनले समय पनि पाएनन् ।’ उहाँले रोयटर्सलाई भन्नुभयो ।
वाजेदले भन्नुभयो, ‘उनले (हसिना) एक वक्तव्य जारी गरेर राजीनामा दिने योजना बनाएकी थिइन् । तर त्यसपछि प्रदर्शनकारीले प्रधानमन्त्री निवासतिर र्याली गर्न थाले । अनि समय पनि थिएन । आमासँग सामान पनि थिएन । जहाँसम्म संविधानको सवाल छ, उनी अहिले पनि बंगलादेशकी प्रधानमन्त्री छन् ।’
वाजेदले राष्ट्रपतिले सैनिक प्रमुख र विपक्षी राजनीतिज्ञसँग परामर्श गरेर संसद विघटन गरे पनि प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा नदिई कामचलाउ सरकार गठनलाई अदालतमा चुनौती दिन सकिने बताउनुभयो ।
यसैगरी, वाजेदले हसिनाको अवामी लिग पार्टीले आगामी चुनाव लड्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘म अवामी लिग सत्तामा आउनेमा विश्वस्त छु । होइन भने हामी प्रतिपक्ष बन्नेछौँ ।’ उहाँकाअनुसार अब बंगलादेशमा तीन महिनाभित्र निर्वाचन गरिसक्नुपर्छ ।
यसैबीच, नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अगस्ट ८ मा बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिइसक्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा ८४ वर्षीय युनुसलाई राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
युनुसलाई सहयोग गर्न १६ सदस्यीय सल्लाहकार परिषद्को घोषणा गरिएको थियो । युनुसले प्रधानमन्त्रीको सरह मुख्य सल्लाहकारको रूपमा शपथ लिनुभएको थियो ।








प्रतिक्रिया