१८ असार २०८३, बिहिबार

दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामीको संख्या बढ्दो

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २५ साउन । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ ।

असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो, ‘उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन् ।’

‘अस्पतालमा दैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।’ सूचना अधिकारी डा. भण्डारीले भन्नुभयो ।

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उहाँको सुझाव छ । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । उहाँले भन्नुभयो, ‘सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ ।’

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ । दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन् ।