
काठमडौं, २१ साउन । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा महत्वपूर्ण वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ ।
प्रतिकूल आर्थिक परिस्थितिका बावजुद बैंकले महत्वपूर्ण वित्तीय सूचकांकहरूमा उत्साहजनक वृद्धि देखाएको हो । बैंकले समीक्षा अवधिका लागि १७.३७ प्रतिशतको लाभांश क्षमता बनाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा निकै राम्रो हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको लाभांश क्षमता ९.२४ प्रतिशतमा सीमित थियो ।
यसैगरी, समीक्षा अवधिमा बैंकले २ अर्ब ६६ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा ११४.१९ प्रतिशत बढी हो । यो अवधिमा खूद नाफा ३ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा खुम्चिएर १ अर्ब ३२ करोडमा सीमित थियो । यसरी खूद नाफातर्फ बैंकले १७६ प्रतिशतको छलाङ मारेको छ ।
यस्तै, बैंकको अघिल्लो वर्ष ७.४२ प्रतिशतमा सीमित प्रतिसेयर आम्दानी २३३.५५ प्रतिशतले वृद्धि भई २४.७५ रुपैयाँको उचाईमा पुगेको छ । बैंकको सञ्चालन मुनाफा पनि वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतको बढोत्तरी हुँदै सञ्चालन मुनाफा ५ अर्ब २९ करोड माथि पुगेको छ ।
विषम् परिस्थितिमा पनि कृषि विकास बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि आकर्षक वृद्धि भएको छ । फलस्वरुप अघिल्लो वर्ष ८ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा वर्ष १० अर्ब १२ करोड माथि पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो । उद्योगको औसत वृद्धिदरभन्दा डिपोजिटमा झण्डै दोब्बरको बढी देखिएको छ ।
यस्तै, समीक्षा अवधिसम्म बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा परिचालन गरेको छ । कर्जातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशतको ग्रोथ गरेको देखिन्छ । समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर नेटवर्थ २३३.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य रु. २२८३.९८ कायम रहेको छ ।







प्रतिक्रिया