१९ असार २०८३, शुक्रबार

काभा महिला भलिबल : आज नेपाल र इरान भिड्दै

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।

नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ ।

इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदान प्रवेश गर्नेछ । लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ । समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो ।

इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो ।