
काठमाडौं, १२ असार । युरोकप २०२४ मा समूह ‘सी’का दुवै खेल बराबरीमा सकिएका छन् ।
मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् । गोलरहित बराबरीमा सबै टिमले एकएक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ ।
यसैगरी, अर्को खेलमा डेनमार्क र सर्वियाले पनि गोलरहित बराबरी खेले । डेनमार्क ३ अंकका साथ दोस्रो स्थानमा रहेर अन्तिम १६मा पुगेको छ । डेनमार्क र स्लोभानिया दुवैले तीन तीन खेल नै बराबरी खेलेका थिए । तर, कम पहेँलो कार्डका आधारमा डेनमार्क दोस्रो स्थानमा रहन पुग्यो ।
यसैगरी, लगातार तीन खेलमा बराबरी खेलेको स्लोभानिया पनि उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । सर्विया भने प्रतियोगिताबाट बाहिर भएको छ ।
यसैगरी, समूह ‘डी’को खेलमा अस्ट्रिया जित निकाल्दै समूह विजेता बनेको छ । अस्ट्रियाले नेदरल्याण्ड्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा रह्यो । अस्ट्रियाले पहिलो गोल उपहार पाएको थियो । नेदरल्याण्ड्सका डोनियल मालेनले आफ्नै पोस्टमा गोल गर्दा अस्ट्रियाले अग्रता लिएको थियो । ४७औं मिनेटमा नेदरल्याण्ड्सका कोडी म्याथेसले बराबरी गोल गरेका थिए । ५९औं मिनेटमा अस्ट्रियाका रोमानोले गोल गरेपछि २-१ को अग्रता लियो ।
७५औं मिनेटमा नेदरल्याण्ड्सले मेफिस डीपेले बराबरी गोल गरेका थिए । प्रतिस्पर्धात्मक देखिएको खेलमा मार्केल सेबिट्जरले ८०औं मिनेटमा गोल गरेपछि अन्ततः अस्ट्रिया ३-२ को जितका साथ शीर्ष स्थानमा रह्यो ।
यही समूहमा रहेको फ्रान्स र पोल्याण्डले भने एकएक गोलको बराबरी खेले । दुवै टिमले एक एक गोल पेनाल्टीमा गरेका हुन् । ५६औं मिनेटमा केलियन एम्बाप्पे र ७९औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले आफ्ना टिमका लागि पेनाल्टीमा गोल गरेका थिए ।
बराबरीसँगै फ्रान्सले अन्तिम १६ मा स्थान बनाउँदा पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट उत्कृष्ट तेस्रो बन्दै नेदरल्याण्ड्सले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
प्रतियोगिताअन्तर्गत आज पनि ४ वटा खेल हुने छन् । समूह ‘ई’का स्लोभाकिया र रोमानिया, युक्रेन र बेलजियम भिड्दा समूह ‘एफ’का चेक गणतन्त्र र टर्की तथा जर्जिया र पोर्चुगल आमने सामने हुने छन् ।
पहिलो खेल राति पौने १० बजे सुरु हुनेछ भने दोस्रो खेल राति पौने १ बजे सुरु हुनेछ ।








प्रतिक्रिया