२२ जेष्ठ २०८३, शुक्रबार

टी-२० विश्वकप : भारत सेमिफाइनल नजिक, बंगलादेश अन्तिम आठबाट बाहिरियो

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । आइसिसी टी-२० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकालेको छ । योसँगै भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४६ रनमा समेटियो ।

बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रनको पारि खेले । तन्जिद हसनले २९, रिशाद हुसेन २४, लिटनकुमार दास र महमुदउल्लाहले समान १३ जोड्दा शाकिब अल हसनले ११ रन बनाए ।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए ।

यस्तै, अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याले एक विकेट निकाले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले जारी विश्वकपमा आफ्नो पहिलो अर्धशतकीय पारी खेले । २७ बलको सामना गरेका उनले १९औँ ओभरको अन्तिम बलमा चौका प्रहार गरी ५० रन पूरा गरेका थिए ।

यस्तै, विराट कोहलीले ३७, शिवम दुबे ३४, ऋषभ पन्त ३६, कप्तान रोहित २३ र सुर्यकुमार यादवले ६ रन बनाए । अक्षर पटेलले अविजित ३ रन बनाए ।

बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई-दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट लिए ।

शनिबारको खेलमा पराजित बंगलादेश सुपर एटबाटै बाहिरिएको छ ।