१४ असार २०८३, आइतबार

बेलायतदेखि १४ हजार ८ सय किलोमिटर सडक यात्रा गर्दै नेपाल आइपुगे रोशन श्रेष्ठ

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । परदेश बसेपनि मनभरी नेपाल बोक्नुभएका रोशन श्रेष्ठ बेलायतको लण्डनदेखि सडकमार्ग हुँदै नेपाल आइपुग्नुभएको छ ।

यसक्रममा उहाँले भारतीय मुलका बेलायती नागरिकका साथमा १३ वटा देशहरुको स्थल मार्ग हुँदै १४ हजार ८ सय किलोमिटरको यात्रा पार गर्नुभएको छ ।

यात्राको क्रममा नेपालको राष्ट्रिय झण्डा र नेपाल चिनाउने टिसर्ट लगाउँदै हिँड्नुभएका उहाँले यात्रामा नेपाल, सगरमाथा, बुद्ध र नेपालको सुन्दरता हेर्न नेपाल भ्रमण गर्न अभिप्रेरित गर्दै प्रवचन पनि दिनुभएको थियो । पुर्ख्यौली थलो ओखलढुंगा भएपनि धरानमा जन्मिनुभएका श्रेष्ठ विगत २५ वर्षदेखि परिवारका साथ् बेलायत बसोबासरत हुनुहुन्छ ।

नेपाल प्रहरीका पूर्वप्रहरी अधिकृत उहाँले यात्राको क्रममा अप्रिल २० तारिखको दिन बेलायतबाट यात्रा सुरु गर्दै फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, पोल्याण्ड, लिथुयानिया, लात्भिया, इस्टोनिया, रसिया, काजकास्थान, उज्बेकिस्थान, किर्गिस्थान र चीनको केरुङ्ग हुँदै जुन ४ तारिखको दिन मातृभूमि नेपाल प्रवेश गर्नुभएको थियो ।

ती देशहरुको स्थलमार्ग हुँदै १४ हजार ८ सय किलोमिटर पार गर्न उहाँलाई ४६ दिन लागेको थियो । यस क्रममा रसियाको भिसा प्रक्रिया गर्न र बोर्डरमा सुरक्षा फौजको कडा निगरानी एवं चेकजाँचमा हैरानी बेहोर्नु परेपनि अन्यत्र भने त्यस्तो अप्ठ्यारो अनुभूति नभएको बताउनुभो ।

उहाँको नेपाल चिनाउने यो अभियान ४ वर्ष अगाडि नै गर्ने तय भएतापनि कोरोना महामारीको कारण स्थगित गरिएको कुरा रोशन श्रेष्ठका भतिजा शिवजी श्रेष्ठले बताउनुभयो । सन् २०२० मा बेलायतस्थित राजदूतावाससँगसमेत समन्वय गरेर एउटा औपचारिक कार्यक्रमसहित तत्कालीन राजदूतको हातबाट नेपालको झण्डा हस्तान्तरण गर्दै यात्रा सुरुवात गर्ने योजना थियो । नेपालको प्राकृतिक सुन्दरता चिनाउँदै बाटोमा परेका ती देशका नागरिकहरुलाई नेपाल भ्रमण गर्न लालायित गर्ने उदेश्यले यो भ्रमणको तयारी गर्दै उसबेला ५ जनाको टोली तयार गरिएको भएतापनि कोरोना महामारी पछिको यस अभियानमा भने नेपाल र भारतका गरी २ जना मात्रै सहभागी भएको श्रेष्ठले बताउनुभयो ।

यात्राको क्रममा सबैभन्दा गौरव लाग्ने क्षण तिब्बतमा भृकुटीले बनाउन लगाएको ठूलो मन्दिर अनि तिब्बतको जोखाङ्ग मन्दिरमा नेपालकी छोरी भृकुटी मुर्ति राखिएको देख्दा लागेको अभियन्ता रोशन श्रेष्ठले सुनाउनुभयो । उज्बेकिस्थानमा इतिहासको राम्रो संरक्षण गरिएको पाइएको बताउँदै उहाँले अहिले भारतको अयोध्यमा भएको बाबरी मस्जिदको विवाद यहीका सम्राट बाबरको नामबाट भएको बुझिएको, जो यहीबाट भारत पुगेर शासन गरेको इतिहासमा उल्लेख छ भन्नुभयो । रसियाको भोल्गाग्रादमा राजा महेन्द्रले स्टालिनला दिएको खुकुरी अझै म्युजियममा सुरक्षित रहेको देखिएको उल्लेख गर्नुभयो ।

चीनको कैलाश मानसरोबरको धार्मिक पर्यटनबाट हाम्रो देश नेपालले बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुलाई आकर्षण गर्ने गरी योजना बनाउन सिक्न सकिने कुरा धेरै रहेको रोशन श्रेष्ठले बताउनुभयो । सबैभन्दा उल्लेखनीय कुरा चीनको तर्फबाट सगरमाथा हिमाल आरोहण गर्न जाँदा एभरेष्ट बेस क्याम्प पुग्ने सुविधाले गर्दा त्यसतर्फ आरोहीहरु आकर्षित हुनसक्ने सम्भावना देखिएको उल्लेख गर्नुभयो । जसबाट नेपाल सरकार सजग रहेर सोहीअनुसार हाम्रो तर्फको एभरेष्ट बेस क्याम्पमा पनि सोही मुताबिकको सुविधाको व्यवस्थातर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘परदेशको जति नै विकसित देशमा आफू बसे पनि जबसम्म आफ्नो देशको उन्नति र विकास हुँदैन तबसम्म अरु देशका नागरिकले आफूलाई हेर्ने नजर परिवर्तन हुँदैन रहेछ भन्ने हामी सबै परदेशमा बस्ने नेपालीहरुले महशुस गरेका छौँ । त्यही कुरालाई मध्यनजर राखेर नै देश चिनाउन संसारको प्रत्येक कुनामा नेपालको पहिचान बोकेर पुग्ने आफ्नो हुटहुटी रहेको छ ।’

रोशन श्रेष्ठ यसअघि पनि भियतनाम, कम्बोडिया, थाइल्याण्डलगायतका पूर्वी एशियाका देशहरुमा नेपाल चिनाउने अभियान लिएर पुग्नुभएको थियो । हाल श्रेष्ठ आफ्नो जन्मथलो धरान हुँदै आफ्नो बुवाको जन्मथलो ओखलढुंगा पुग्नुभएको छ ।