
काठमाडौं, ६ असार । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य विशाल भट्टराईले एमालेका विरुद्ध आज पनि अनेक खालका दुष्प्रचार भइरहेको बताउनुभएको छ ।
बुधबार अनेरास्ववियु कोशी प्रदेशस्तरीय प्रचार भेलालाई झापामा सम्बोधन गर्नुहुँदै भट्टराईले एमाले विरुद्धका सबै गलत प्रचारलाई एमाले र त्यसका जनसंगठनले तोड्नु पर्ने बताउनुभयो । ‘अहिले सबै पार्टी एउटै हुन्, कोही राम्रा छैनन् भन्ने दुष्प्रचार फैलाइएको छ, ठूला पार्टीहरू एउटै हुन्, यस किसिमको भ्रम सिर्जना गर्न खोजिएको छ ।’ भट्टराईले भन्नुभयो ।
भारतले नाकाबन्दी लगाउँदा चुइँक्क पनि बोल्न नसक्ने कांग्रेस, माओवादी र सिंहदरबार भित्रै बसेर यो नाकाबन्दी हो फिर्ता गर भनेर भारतलाई चुनौती दिने केपी शर्मा ओली र एमाले एकै हुन नसक्ने भट्टराईले दाबी गर्नुभयो ।
भारतले कब्जा गरेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको नक्सामा समेट्ने केपी ओली नेतृत्वको सरकार र सरकारमा बसेर केही काम गर्न नसक्नेहरू एउटै हुन सक्छन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो । सबै एउटै हुन् भन्ने प्रचार गर्नेको एमाले र अनेरास्ववियुका कार्यकर्ताले प्रतिवाद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘दुनियाँमा त्यो मात्रै नेता भएको छ, जसले अत्याचारको विरुद्ध बोल्न सक्छ ।’ उहाँले भन्नुभयो ।
उहाँले विरोध र आलोचनाबाट डराउनु नहुने बताउनुभयो । जसले काम गर्छ , जसले सत्य बोल्छ, जसले पक्षधरता लिन्छ त्यसको विरोध हुने भट्टराईले प्रष्ट पार्नुभयो । ‘आफू ठिक ठाउँमा उभिनुपर्छ, विरोधीहरू त्यसै पराजित भएर जान्छन् ।’ उहाँले भन्नुभयो ।
कुनै एक पार्टीलाई बलियो नबनाई देश नबन्ने उहाँले बताउनुभयो । एमाले र केपी शर्मा ओलीलाई सत्तामा नपुर्याएसम्म देश नबन्ने उहाँले प्रष्ट पार्नुभयो ।








प्रतिक्रिया