२६ जेष्ठ २०८३, मंगलबार

एमालेको नेता बन्न सृजनशीलताको आवश्यकता छ : आनन्द पोखरेल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेकपा (एमाले) पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पार्टीका नेता कार्यकर्तामा सृजनशीलताको आवश्यकता रहेको बताउनुभएको छ ।

एमाले बागमती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारीसहितको शपथग्रहण कार्यक्रममा बोल्दै पोखरेलले सृजनशीलता नभएका मानिसले राजनीतिक काम गर्न नसक्ने बताउनुभयो ।

पार्टीलाई वैचारिक र सांगठनिक ढंगले बलियो बनाउन विभिन्न विभागहरू बनाइएको उहाँले प्रष्ट पार्नुभयो । पोखरेलले विभागको कामलाई सामान्य नठान्न आग्रह गर्नुभयो ।

पोखरेलले पार्टीका नेताहरूले तोकिएको काम मात्र होइन पार्टीलाई बलियो बनाउन अन्य रचनात्मक काम गर्नुपर्ने बताउनुभयो । एमालेलाई राष्ट्रिय शक्ति बनाउँदा मात्र मिसन २०८४ पूरा हुने उहाँको भनाइ छ । ‘एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँदा मात्र मसिन २०८४ पूरा गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो ।

साम्राज्यवादी र सामन्तवादी शक्तिलाई परास्त गर्दै एमालेलाई राष्ट्रिय शक्ति बनाउनु पर्ने उहाँले बताउनुभयो । सशस्त्र सङ्घर्षबाट होइन जनताको बलबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

किसान मजदुरका एजेण्डा उठाएर एमाले राष्ट्रिय शक्ति बन्नुपर्ने उहाँले बताउनुभयो । साम्राज्यवादी र सामन्तवादीको आवाज बोक्ने होइन, एमाले श्रमिक, किसानको मुद्दा बोक्ने र उनीहरूलाई समृद्ध बनाउने पार्टी भएको पोखरेलले प्रष्ट पार्नुभयो ।

एमाले सरकार बनाएर मात्र नपुग्ने बताउँदै पोखरेलले एमालेलाई सबल र सुदृढ राजनीतिक शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसो भयो भने मात्र लोकतन्त्र र देशलाई सुदृढ बनाउन सकिने उहाँले बताउनुभयो ।