२२ असार २०८३, सोमबार

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा ४ जना पक्राउ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था खोलेर सर्वसाधारण मानिसलाई आकर्षक व्याज दिने र आवश्यक परेको समयमा जम्मा भएको रकम दिने विश्वास दिलाई उनीहरुको रकम अपचलन गरी फरार रहेका कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसमेत चारजना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तनहुँ जिल्लाका व्यास नगरपालिका–११ हाल गोकर्णेश्वर बस्दै आएका ४३ वर्षीय तेज विक्रम थापा, सहकारीका व्यवस्थापक ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया सजना राजकर्णीकार रहनुभएको छ । उहाँ पनि हाल गोकर्णेश्वर बस्दै आउनुभएको छ ।

यस्तै, सहकारीका सञ्चालक सदस्य ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सन्जय सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ । महर्जन काठमाडौं महानगरपालिका किर्तिपुर नगरपालिका–८ का बासिन्दा हुनुहुन्थो भने सापकोटा काठमाडौं महानगरपालिका ६ का बासिन्दा हुनुहुन्थो ।

उहाँहरुलाई जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका कर्मचारीले पक्राउ गरेको हो । उहाँहरुको साथमा मोबाइल थान ६ वटा, पेनड्राइभ तीनवटा, हस्ताक्षरसहितको चेक थान ३, इको भ्यान, सहकारीको छापलगायतका सामानहरु बरामद भएको छ ।