
काठमाडौं, २ असार । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले यसपालीको संघीय सरकारको बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्र बनेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उहाँले मन्त्री र प्रधानमन्त्रीले बजेट आफ्नो क्षेत्रमा जति लगेपनि जे गरेपनि छुट भएको भन्दै यसपालीको बजेट २७५ जना सांसदको हो भन्नु एउटा सपना मात्र भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नियम कानून मन्त्रीलाई लाग्दैँन् । संविधान लेख्दा एउटा कुरा लेख्न बिर्सिएछ– मन्त्री र प्रधानमन्त्री संविधानभन्दा माथि हुन्छ । उहाँलाई कुनै कानून नियमले छुँदैन । उहाँले जति बजेट बनाइ दिएपनि, आफ्नो क्षेत्रमा लगेपनि, जे गरेपनि, जति घुस खाएपनि छुट छ । यसपालीको बजेट केही व्यापारीले बनाएका हुन् । बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्र बनेको हो । २७५ जना सांसदका लागि बजेट हो जसले भन्छ त्यो एउटा सपना मात्र हो ।’
यस्तै, उहाँले माओवादी पार्टी समाप्तीको अन्तिम चरणमा आएको भन्दै आफ्नो सांसद कहाँ कहाँ जित्न सक्छ त्यहाँ मात्र बजेट खनाएको आरोप पनि लगाउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम चरणमा छ । यस्तो अवस्थामा आफूले कहाँ कहाँ जित्न सकिन्छ, त्यहाँ मात्र बजेट खन्याइएको छ । हामी जस्तो सांसदलाई उहाँहरुले देख्नुहुन्न्, चिन्नुहुन्न् । किनभने मैले अझैसम्म अर्थमन्त्रीको चाकडी गरेको छैन् ।’








प्रतिक्रिया