
काठमाडौं, २ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्नुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा उहाँले विधेयक प्रस्तुत गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘लगानी वातावरणलाई थप सहज बनाउन विधेयक मार्फत औद्योगिक व्यवस्थापन ऐन २०७६, भूमि सम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९, जग्गा प्राप्ती ऐन २०३४, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक नीति साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ मा समय अनुकुल संशोधनको प्रस्ताव गरि यो विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरेको छु ।’
उहाँले विधेयकमा स्टाट्अप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद, थप विदेशी लगानी तथा प्रविधि हस्तान्तरण लगायतका विषयहरु प्रस्तुत भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रस्तुत विधेयशमा स्टाट्अप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद, थप विदेशी लगानी तथा प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलीयतलाई वृद्धि गरिएको छ । लगानीलाई सहज बनाउन, जग्गा प्राप्ती गर्ने विषयमा सहजता कायम गर्न, वन क्षेत्रमा प्राथमिकता प्राप्त उद्योग स्थापना गर्ने विषयलाई यसले सहज बनाउनेछ ।’
नेपालमा लगानीको वातावरणलाई सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन २०८१ को क्रममा नीतिगत सुधार गर्न, कानून परिमार्जन गर्न आवश्यक भएको र अध्यादेश जारी हुँदा संसदको अधिवेशन नभएको हुनाले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश २०८१ जारी भएको अध्यादेश संघीय संसदमा पेश भई स्विकृती भइसकेको हुनाले अध्यादेशलाई प्रतिस्थापन गर्न तर्जुमा ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरिएको जानकारी उहाँले दिनुभयो ।








प्रतिक्रिया