४ असार २०८३, बिहिबार

गाँजा खेतीको वैधानिकताका लागि युवाद्वारा अभियान सुरु, राज्यलाई दबाब दिन आन्दोलन गर्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १ असार । गाँजा खेतीको वैधानिकताका लागि मकवानपुरका युवाहरुले अभियान सुरु गरेका छन् ।

शनिबार मनहरी गाउँपालिका–८ स्थित पिस पार्कमा युवाहरुले जनप्रतिनिधिसहितको भेला आयोजना गरी गाँजाखेतीको वैधानिकताका लागि स्थानीय तहबाटै राज्यस्तरमा पहल गर्न दबाब सिर्जना गरेका हुन् ।

लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका युवा व्यवसायी राजेश भेटवालको अगुवाइमा भएको भेलामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष एवम् गाँजा बोक्दा जेल जीवन विताइरहेका भरियाका परिवारको सहभागिता रहेको थियो ।

‘गाँजा खेतीको वैधानिकता, सम्भाव्यता अध्ययन तथा गाँजा ओसारपसारमा गर्दा राज्यबाट पक्राउ गरी जेलजीवन बिताइरहेकाहरुको रिहाइको माग गर्दै हामीले भेला आयोजना गरेका हौँ ।’ अभियान्ता भेटवालले स्थानीय तह, प्रदेश र संघीय सरकारले यस विषयमा अब निर्णय गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।

‘गाँजा बोक्ने भरियारहरु अनाहकमा जेल जीवन बिताइरहेका छन् । राज्यले वैधानिकताको सवाल उठाउने अनि मौन बस्ने गर्दा सोझा जनताहरु समस्यामा परिरहेका छन् ।’ उहाँले भन्नुभयो । उहाँले यस विषयको सुनुवाइ छिट्टै नभएको खण्डमा चरणबद्ध आन्दोलनको तयारीसमेत गरिरहेको बताउनुभयो ।

मकवानपुर जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका गाँजा खेती हुने क्षेत्र हो । यस क्षेत्रबाट वर्षेनी सयौं युवाहरु गाँजा बोकेका कारण जेल जीवन विताउन बाध्य भइरहेका छन् ।

भेलामा मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल र कैलाश गाउँपालिका फ्रमुख लोक मोक्तानले स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यत्रम र बजेटमा यस विषयलाई समावेश गर्ने, आफ्नो स्थानीय तहबाट जेल जीवन बिताइरहेकाहरु तथ्यांक राख्ने र गाँजाको वैधानिकताका लागि प्रदेश र संघीय सरकारलाई विभिन्न कार्यक्रम गरी दबाब सिर्जना गर्ने प्रतिबद्धता भेलामा जनाउनुभएको थियो ।

भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा. भोला भट्टराईले गाँजा खेती र वैधानिकता विषयमा प्रष्ट्याउनुभएको थियो ।

भेटवाल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँले अघिल्लो महिना काठमाडौंमा सम्पन्न भएको पार्टीको महासमिति भेलामा समेत यस विषयको उठान गरी सबैको ध्यान आफूतिर तान्नुभएको थियो ।

भेलामा मनहरी–७ का वडा अध्यक्ष ठाकुराम तितुङले राज्यले छिट्टोभन्दा छिट्टो यो विषय टुंगोमा पुर्‍याउन जरुरी रहेको बताउनुभयो । ‘यस क्षेत्रमा रोजगारीको अवसर छैन् । राज्यको उपस्थिति शून्य जस्तै छ । यस क्षेत्रका लागि गाँजा खेती बरदान जस्तै हो ।’ उहाँले भन्नुभयो । कार्यक्रम सञ्चालन युवा अभियन्ता सन्तोष थापाले गर्नुभएको थियो ।