५ असार २०८३, शुक्रबार

यो वर्ष एक खर्ब बढीको आईटी सेवा निर्यात हुने अनुमान छ : अर्थमन्त्री पुन

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आईटी) क्षेत्रमा विश्वमा उदाइरहेको आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई सरकारले खुला रुपले स्वीकारेर प्रयोगको वातावरण बनाउन तयार रहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित पहिलो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन–२०२४ को उद्घाटन गर्दै मन्त्री पुनले नेपालको सूचना प्रविधि क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने राम्रा र महत्वपूर्ण आधारहरु रहेको उल्लेख गर्दै सरकारले यो क्षेत्रको विकास र विस्तारलाई जोड दिएको बताउनुभयो ।

मन्त्री पुनले भन्नुभयो, ‘गएको वर्ष ६६ अर्बको आईटी क्षेत्रले सेवा निर्यात गरेको छ, यो वर्ष त्यो सेवा १ खर्ब नाघ्ने अनुमान छ । यो क्षेत्र हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र हो । हामी कृषि, पर्यटन, जलविद्युत र उद्योगका केही क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेर भन्ने गर्दथ्यौँ । तर, सबभन्दा पछिल्लो क्षेत्र आईटी भएको छ । यसमा हामीले राम्रो प्रतिस्पर्धा गर्न सक्ने आधार भूअवस्थितिले गर्दा देखिएको छ । हामीसँग उत्पादित जनसक्तिले प्रतिस्पर्धा गर्न सक्ने देखाइरहेको छ । सरकारले यसमा विशेष जोड दिएरै प्राथमिकतामा राखेको छ ।’

उहाँले नेपालको कृषि, पर्यटन, जलविद्युत र उद्योगका केही क्षेत्रसँगै पछिल्लो समय आईटी क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने महत्पूर्ण र राम्रा आधारहरु देखाएको प्रष्ट पार्नुभयो ।

मन्त्री पुनले सरकार आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई नीतिगत रुपमा अगाडि बढाउन तयार रहेकोमा जोड दिँदै भन्नुभयो, ‘आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषय छ । यसबारे हुने छलफलबाट सरकारलाई समेत काम लाग्ने उपयोगी नीतिगत प्रतिक्रिया हामीलाई दिनुहुने छ भन्ने विश्वास छ । जसलाई सरकार खुला रुपले स्वीकार गर्न, प्रयोग गर्न र यस क्षत्रको लागि वातावरण बनाउन तयार छ ।’

यस्तै उहाँले आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई सूचना प्रविधिको विकास र विस्तारसँगै विकासको सहयोगीको रुपमा लिएर यस क्षेत्रसँग नयाँ पुस्तालाई जोड्ने गरी आर्थिक विकासको अवधारणा ल्याउनुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधिलाई विकासँग नजोडे युवा देशमा नबस्ने र विकासले विश्वसँग प्रतिस्पर्धा गर्न नसक्ने ठम्याइँ मन्त्री पुनको छ ।

‘राज्यले उद्यमी व्यवसायी, निजी क्षेत्र वा नागरिक कसैको पनि पक्ष र विपषमा बस्ने होइन, स्वतन्त्र र नियामकको भूमिकामा हुनेछ, सबैलाई एकै खालको काम गर्ने वातावरण सिर्जना गर्नेछ । अवसरको समान कायम गर्छौँ भन्ने हाम्रो प्रतिबद्धता हो त्यो अनुसारको नयाँ चरणको आर्थिक सुधार हुनेछ र त्यसले नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्नेछ ।’ मन्त्री पुनले भन्नुभयो ।

नयाँ पुस्ताका लागि सूचना प्रविधि अभिन्न अगं बनेको बताउनुभएका उहाँले थप भन्नुभयो, ‘हरेक नागरिकको जीवनमा नयाँपन ल्याउन सक्ने गरी प्रविधिसँग जोडेर आर्थिक विकासको अवधारणा हामीले ल्याउन सकेनौं भने नयाँ पुस्ता देशभित्र रहँदैन, हाम्रा विकास विश्वव्यापी प्रतिस्पर्धी बन्न सक्दैन, त्यसैले नयाँ पुस्तालाई सुहाउने प्रतिस्पर्धी आर्थिक सुधारको प्रस्ताव गरेका छौँ ।’