
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमण बारे संसदलाई जानकारी गराउन माग गरेको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कम्जोर बनाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफूहरुले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री डराएर संसदमा नआएको हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले सरकारले संसदको अपमान गरेको बताउँदै संसद चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जादा संसदलाई जानकारी गराउनुपर्ने स्मरण गराउनुभयो । प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफूहरुले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताउनुभयो ।
लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण बारे जानकारी गराउन माग गर्नुभएको छ ।








प्रतिक्रिया