२९ जेष्ठ २०८३, शुक्रबार

राष्ट्रपति पौडेल कतारमा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुग्नुभएको छ ।

उहाँलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल बुधबार जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन सत्रमा प्रमुख वक्ताकारुपमा सहभागी हुनुहुनेछ ।

उहाँले बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन सम्बोधन गर्नुहुनेछ । सोही दिन राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

स्वीटजरल्याण्डपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । त्यहाँ पनि औपचारिक भेटघाट र वार्ताको कार्यक्रम छ ।

राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फिर्ता हुनुहुनेछ ।