सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

दैनिक नेपाल २०८१ जेठ २९ गते १०:५९

पोखरा, २९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भएपनि पाण्डेलाई विश्वासको मत दिनुभएको थियो ।

देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारबाही गर्न नमिल्ने बताएको छ ।

योसँगै गुरुङ गण्डकीमा छैटौं पटक मन्त्री बन्दै हुनुहुन्छ । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यसअघि नै नियुक्त भइसक्नुभएको छ ।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।

सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले आजै मन्त्रिपरिषद् विस्तार गरी दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित